नेपाली काव्यानुवादलाई एउटा रोचक उपहारः पुश्किन र त्युत्चेभका कविता

समीक्षकः चण्डिराज दाहाल
कृतिको नामः पुश्किन र त्युत्चेभका कविता
अनुवादकः प्रा.डा. जङ्गब चौहान
प्रकाशकः भृकुटी एकेडेमिक पब्लिकेशन्स् काठमाडौं २०६६
पृष्ठः ७६
मूल्यः रु १९५/-

साहित्य एउटा अनुपम सुन्दरता हो । यसले जोसुकैलाई मोहित पार्दछ । जीवन र जगतका बारेमा मनोरम भावना वा कल्पनाशक्ति प्रदान गरी पाठकलाई आफूप्रति आकर्षित गर्ने हुनाले साहित्यले ज्ञानको क्षितिजलाई समेत फराकिलो पार्दछ । मानव मनका संवेदनाहरुलाई संगालेर धार्मिक सीमा पार गरेको हुन्छ भौगोलिक पर्खालहरुलाई नाघेको हुन्छ । यस्ता अनेक बाधा अड्चनहरुलाई पन्छाउँदै पाठकसँगको सुमधुर सम्बन्ध स्थापित गर्न साहित्यमा अनुवाद एक अत्यावश्यक विधा मानिन्छ । अनुवादबाटै साहित्य एक भाषाबाट अर्को हुँदै विश्वभर फैलिन्छ । नेपाली साहित्यमा पनि अनुदित कृतिहरुले राम्रो स्थान जमाउन थालेका छन् । विशेषगरी अङ्ग्रेजी साहित्यलाई नेपालीमा अनुवाद गर्ने क्रम बढेको छ भने गि्रसेली प्रुान्सेली रुसी लगायतका साहित्य एकबाट अर्को हुँदै नेपाली भाषासम्म आइपुगेका छन् । त्यसो त लियो टाल्स्टाय आन्तोन चेकोभ जस्ता विश्वप्रसिद्ध रुसी साहित्यकारका कृतिहरु नेपालीमा अनुदित हुँदै आएका छन् । सोही क्रममा रुसी साहित्यको अतुलनीय स्रष्टाद्वय अलेक्सान्द्र पुश्किन र फ्योदर त्युत्चेभका उत्कृष्ट कविताहरुको अनुदित संग्रह नेपाली पाठकसामू उपस्थित भएको छ । "पुस्किन र त्युत्चेभका कविता" नामक उक्त कृतिका माध्यमबाट काव्यानुवादको श्रीबृद्धि गर्दै नेपाली साहित्यलाई एउटा रोचक उपहार प्रदान गरेका छन् प्रा.डा.जङ्गब चौहानले ।
पुस्तकको बाहिरी आवरण हेर्दा कविद्वयका स्केचहरु निलो रङ्ग संयोजनको कडा खोलमा प्रतिबिम्वित छन् । यसै बर्ष पहिलो संस्करण अन्तर्गत भृकुटी एकेडेमिक पब्लिकेसन्स् काठमाडौंबाट एक हजारप्रति छापिएको यो पुस्तक ८२ पृष्ठको छ । आकारमा सानो भएपनि यसले साहित्यानुरागीहरुको मन जित्ने प्रायः निश्चित छ । यस कृतिले रुसी कविद्वय अलेक्सान्द्र पुश्किनका १३ वटा र फ्योदर त्युत्चेभका १२ वटा गरी २५ वटा संकलित कविताहरु समेटेको छ । प्रत्येक कविताका मूलपाठ समेत यहाँ समावेश गरिएको छ । कत्यसैगरी परिशिष्टमा विभिन्न सन्दभमा पुश्किनका बारेमा लेखिएका लेख-रचनाहरु वा संस्मरणहरु पनि प्रकाशित छन् । साथमा नेपाल-रुस साहित्य समाजका अध्यक्ष तेजेश्वरबाबु ग्वंगःद्वारा प्रस्तुत पुश्किन र त्युत्चेभका कवितामा विचरणु समेत उक्त पुस्तकमा संलग्न गरिएको छ ।
रुसी भाषा र साहित्यको जग ठड्याउने मात्र नभई त्यसलाई उत्कृष्ट साहित्यिक रुप दिने कार्यमा समेत महत्वपूर्ण योगदान पुर् याउने पुश्किनले काव्य संसारमा दिएको विशिष्ट योगदानलाई यस पुस्तकले केही हदसम्म चर्चा गर्ने जमर्को गरेको छ । उनका कवितामा एकातिर तात्कालीन राजनीतिक-सामाजिक अवस्थाप्रतिको विद्रोह पाइन्छ भने अर्कातिर प्राकृतिक सुन्दरता र स्वयं आफ्नै जीवनमा अनुभव गरेका प्रेमप्रसङ्गहरु बडो सुरम्यताका साथ प्रस्तुत गरिएको पाइन्छ । पुश्किनका कविताहरु प्राय तात्कालीन जारशाही निरङ्कुशताबिरोधी पाइन्छन् । त्यसैगरी रुसका अर्का शीर्षस्थ बौद्धिक व्यक्तित्वका रुपमा परिचित कवि फ्योदर त्युत्चेभका कविता पनि निकै उत्कृष्ट मानिन्छन् । परराष्ट्र सेवामा संलग्न भएका कारण उनका रचनाहरु पाठक र समालोचकहरुका दृष्टिमा नपरेका कारण पहिले नै उनले जति चर्चा पाउनुपर्ने थियो त्यति पाएनन् । तर उनका कविता पाएपछि कवि पुश्किनसमेत चकित बनेका थिए । असफल प्रेमका अनुभूतिहरु संगाल्दै कविले आफ्ना कवितामा प्रेमप्रतिको निरर्थकताबोध गरेका छन् भने प्रकृतिप्रतिको सौन्दर्य चेतनालाई कलात्मक ढंगमा चित्रण गरेका छन् । "सोचेजस्तो होइन" शीर्षकको कवितामा उनी लेख्छन्ः

तिमीले सोचेजस्तो होइन प्रकृतिः
अन्धो र हृदयहीन
ऊभित्र पनि मन छ स्वतन्त्रता छ
ऊभित्र पनि माया छ बोली छ…।

अनुवादका दृष्टिले यो पुस्तक नेपाली साहित्यमा एउटा उत्कृष्ट नमुना बनेको छ भन्दा अत्युक्ति नहोला । अनुवाद त्यसमा पनि विशेषगरी काव्यानुवाद आफैंमा एउटा जटिल कार्य मानिन्छ । मूल स्रष्टाले अनुभव गरेका सिर्जनक्षणको गहिराइसम्म अनुवादकले पुग्नैपर्ने भएकाले काव्यानुवाद एउटा मौलिक सिर्जना हुनसक्छ । त्यसो त अनुवाद सिद्धान्तसम्बन्धी विचारहरु अझै पनि विरोधाभाषपूर्ण छन् । शब्दको पछि लाग्दा अर्थको प्राण जाने हुनाले शब्दको होइन त्यसको आशय वा उद्देश्यको पछि लाग्नु उचित हुन्छ भन्ने मान्यता सर्वव्यापी भए पनि एउटा व्यक्तिलाई उसके भेषभूषा र संस्कृतिमा बुझ्न शब्दको पनि ठूलो भूमिका हुन्छ । जर्मन दार्शनिक स्लेसरमेकरले भनेका छन् अनुवाद गर्दा शब्दश गर्न त्यसो गर्दा मात्र यो विदेशीजस्तो लाग्दछ । अन्य भाषा र संस्कृतिको स्वाद त्यहाँ पाइनाले त्यसबाट धेरै भौगोलिक र साँस्कृतिक ज्ञान प्राप्त हुन जान्छ । अनुवादक प्रा. चौहानले यस कृतिमा अन्तरभाषिक शब्द शैली र भावको यथोचित व्यवस्थापनमा पर्याप्त ध्यान दिएका छन् । यस पुस्तकमा अनुवादकको दुवै भाषामाथिको दक्षता साँस्कृतिक परिवशको व्यक्तिगत अनुभव ज्ञान र अन्तर्दृष्टिसमेत झल्किएको छ ।
अनुवाद सिद्धान्तका बारेमा चर्चा गर्दै समालोचक डा. गोविन्द भट्टराईले लेखेका छन् - "अर्कालाई बुझ्न खोज्नु डरलाग्दो कुरा हो । आफूलाई बुझ्न दिनु पनि झन् डरलाग्दो । अनुवादक पनि त्यस्तै व्यक्ति हो जसले अर्कालाई बुझ्न खोज्छ कि आपुूलाई बुझाउन ।" यसअर्थमा डा. चौहानले गरेको यो प्रयास आफैंमा कम चुनौतिपूर्ण छैन । तर नेपाली पाठकलाई रुसी साहित्यको गहिराइसम्म पुर् याउन र रुसी साहित्यको क्षितिजलाई विश्वभर फैल्याउन यो अनुवाद कार्य सार्थक र अर्थपूर्ण बनेको छ । कविद्वारा व्यक्त भाव र चेनतालाई अनुवादकले यहाँ पुर्नव्याख्या गरेका छन् पुर्ननिर्माण वा एक विशाल विनिर्माण प्रकृयाद्वारा उनले ती कविताहरुलाई जीवन्तता प्रदान गरेका छन् ।
ज्ञानको खोजी र साहित्यको आस्वादनले भौगोलिक धार्मिक वा राजनीतिक सीमालाई नाघेको हुन्छ । देश काल र परिस्थितिबारे बुझ्न मात्र होइन भावनाको गहिराइसम्म डुबुल्की मारी कल्पनाको संसारमा रमाउनसमेत यो कृतिले पाठकलाई एउटा सुनौलो अवसर दिएको छ । यसले पाठकलाई आफ्नो समाज र सँस्कृतिभन्दा टाढा रहेर साहित्य-पान गर्न र त्यहाँको वस्तुस्थिति ज्ञान र सूचनालाई नजिकबाट चियाउन मद्दत गर्दछ । केही कविताहरु कुन सन्दर्भमा रचिएको हो भन्ने जानकारीहरु "फुटनोटु का रुपमा दिइएकाले पाठकलाई ऐतिहासिक ज्ञान र चेतना बृद्धि गर्दै कविताको भाव बुझ्न सहयोग पर् याइएको छ भने पुश्किन र त्युत्चेभका बारेमा लेखिएका संक्षिप्त विवरणले रचनाकार र उनीहरुका रचनालाई बुझ्न सरल बनाएको पाइन्छ । यद्यपि सबै कविताहरु कुन सन्दर्भमा लेखिएको हो भन्ने जानकारी प्रदान नगरिएको हुँदा भने रुसी साहित्य र इतिहासबारे अनभिज्ञ पाठकहरुलाई भने कतिपय कविताको अर्थ बुझ्न मुस्किल पर्ने देखिन्छ ।
नेपालमा झण्डै १० प्रतिशत कृति अनुवादबाटै आएको पाइन्छ । अनुवाद यान्त्रिक र तात्कालिक कार्य होइन । यो अतीत र भविष्यसँग जोडिएको हुन्छ । नेपालीमा महाकविले म्याकबेथको अनुवाद गरे । पुष्कर शमशेरले ओथेलोको ऋद्धिबहादुर मल्लले धेरै गरे । अरु पनि गर्दैछन् । ग्रीक साहित्यदेखि हालैका रसियाली हिन्दी चिनियु जर्मन साहित्यहरु पनि नेपालीमा पस्दैछन् । एउटा तीक्ष्ण ऐतिहासिक चेतनाद्वारा निर्देशित भएर मात्रै उत्कृष्ट व्यक्ति र कृतिको छनौट हुन सक्छ । भविष्यका पाठकलाई सम्झेर मात्रै ती कृतिलाई कुनै भाषातिर ओसार्न मन लाग्न । एउटा अनुवादक त्यसो भए केले निर्देशित छ यसको उत्तर छ एउटा तीक्ष्ण ऐतिहासिक चेतनाले । त्यही चेतनाले निर्देशित भएर अनुदित "पुश्किन र त्युत्चेभका कविता"का माध्यमबाट अनुवादक प्रा. डा. जङ्गब चौहानले नेपाली पाठकहरुलाई रुसी स्रष्टाका सिर्जनाहरुसँग परिचय गराएका छन् रुसी आत्माको गहिराइसम्म पुर् याएर रुसी मानिसको चरित्रलाई बुझ्न मद्दत गरेका छन् ।

1 comment:

Anonymous said...

xhtml approacha placebo faults sherron themed uncritically jabale releases platform lean
semelokertes marchimundui