होलीको रौनकता

कोठाको शान्त वातावरणलाई जिस्काउँदै होलीको रौनकले ल्याएको सांगीतिक हर्षोल्लासका कारण मेरो शरीर अचल रहन सकेन । आफ्नो हात किबोर्डमै नचाउँदै म बाहिर काठमाडौं विश्वविद्यालयको खेलमैदानमा बजिरहेको गीतको तालमा टाउको हल्लाइरहेको छु । बजिरहेको गीतकॊ लिरिक्स मलाई आउँदैन तर त्यो संगीतसँग भने म पहिलैदेखि अभ्यस्त छु ।

एक्कासी आवाज आय, 'ह्याप्पी होली !' म बसेको कोठाबाहिर कसैले सोध्यो- 'ड्याप्स होली खेल्ने होइन ?'
'खेल्ने, तर एकछिनमा' अर्को कसैले उत्तर दियो ।

मलाई होलीको दिन रमाइलो लाग्छ । तर म यसपालि होली नखेल्ने सुरमा कोठाभित्रै थन्किएको छु । बाहिर जान मन पनि छ । तर बाहिर निस्कने वित्तिकै कसैले एक बाल्टिन् पानी खन्याइदिन्छ भन्ने सोचेर म फेसबुकमै रमाउने सुर गरिरहेको छु । पानीले भिजाउँदा शरीर नै जिरङ्ग हुन्छ मेरो । नुहाउँदा भने त्यस्तो कहिल्यै हुँदैन । मलाई रङहरुको होली खेल्न असाध्यै मन पर्छ । त्यो पनि फुको रङको । आजकाल पानी खन्याउने र लोला हान्ने प्रवृत्तिका बढेका कारण म नचाहेरै पनि होलीको रमझमबाट टाढिँदै छु । मलाई यसको विकृत पक्षबारे कसैसँग बहस गर्न मन लागिरहेको छ । नभन्दै फेसबुकमा कसैले सोध्यो 'किन होली नखेल्ने ? बिचरा ! कसैले एकाबिहान उसलाई रङ दल्न भ्याइसकेछ । मैले नखेल्ने भनिदिएँ । मलाई बाहिर निस्कनै डर लागिरहेको छ ।

आज याहूमा साइनइन गर्दा अफलाइनहरु धेरै आएका रहेछन् । सबैमा होलीकै शुभकामना थिए । मैले पढेर रिप्लाई पनि गरें । तर अनलाइन भने कसैलाई भेटिनँ । सोचँे 'सायद उनीहरु पनि होली खेल्दै होलान् ।'

बाहिरको होहल्लाले मेरो ध्यान त्यतैतिर आकृष्ट गर्यो । म झ्याल खोलेर त्यता चिहाउन थाले । घामको प्रकाशका कारण कालो भइने डरले कहिल्यै बाहिर ननिस्कने कोमल अनुहारहरु पनि आज ग्राउण्डमा ओर्लेका रहेछन् । मैले कसैलाई चिन्न सकिनँ । उनीहरु सबैको अनुहार विभिन्न रङले पोतिएका थिए । उनीहरु चिच्याइरहेका थिए । आज उनीहरुमा उमङ्गको सीमा चरमउत्कर्षमा पुगेको छ । सायद यस्तो दिन फेरि आउँदैन भन्ने सोचेको हुनुपर्छ उनीहरुले । त्यहाँ निकै रमाइलो वातावरण थियो । यस्तो होली मैले कहिल्यै देखेको थिइनँ । तर सुनेको थिएँ । काठमाडौं विश्विद्यालयमा जोइन गरेपछिको मेरो यो पहिलो होली हो । म होस्टलमा साथीको कोठामा छु आज । पहिलेका बर्षहरुमा यहाँ पढ्ने दाइहरुले भनेको सुनेको थिएँ । आज त्यही देख्दैछु । 'साकिरा साकिरा…।' गीतको रौनक पनि कम छैन । बाहिर सबै हिलाम्मे देखिन्छन् । उनीहरु निकै तोडले कम्मर हल्लाइरहेका छन् ।

एउटा ठूलो खाल्डो रहेछ । त्यो हिलोले भरिएको थियो । चारजना केटाहरुले एउटी केटीलाई हातखुट्टामा समातेर भ्ु्नाकुल्टुङ पार्दै त्यतैतिर लगे । अनि त्यही खाल्डोमा फ्याकिदिए । त्यस्ता दृश्य बारम्बार दोहोरिने थाले । केटीहरु पनि कम थिएनन् । उनीहरु पनि रमइलो गर्न पाउँदा निकै उत्साहित नै देखिन्थे । मेरो फोन बज्यो । मैले अड्कल काटिसकेको थिएँ । नरम आवाज थियो । तल झर्ने रिक्वेष्ट । त्यो पनि केटीको । मैले आफूलाई सम्हालिरहन सकिन। मन उनीहरुसँगै गएर मिसिन चाहन्थ्यो। त्यो रमाइलो साथमा आफूलाई पनि मिसाउन चाहन्थ्यो । त्यसैले तल नओर्लनु उचित ठानेरै पनि म ओर्लिएँ ।