मेरो जीवन मेरो यात्रा

म सानो छँदा

पहाडजस्तो जताततै पर्खाल हुँदैन तराईमा । आँखाले भ्याएसम्म टाढा हेर्न सकिने समथल जमिनमा
अन्नबालीको बयेलीसँगै मनभित्रका स्पन्दनहरु समुन्द्रका छालझैं बग्दछन् । तराईको अथाह सौन्दर्य चिया गान र अन्नबालीलॆ झल्काउँछ । सुन्दर युवतीले फरिया बेरेझैं नागबेली खोलाको बगरले तराई बेरिएको हुन्छ । सुनसावनजङ्गलमा किराफट्याङ्ग्रा र चराचुरुङ्गीको किरकिर र चुरचुर आवाज प्राकृतिक धुन बनेर गुन्जिरहेको हुन्छ । तराई यस्तै हुन्छ । मेरो मानसपटलमा तराईको आकृति यस्तै चित्रित छ । म हुर्केको ठाउँ । मैले खेलेको ठाउँ । भोजपुर जिल्लाको कुनै विकट गाउँमा म जन्मेको भए पनि मलाई आफू जन्मेको ठाउँ थाहा छैन । मेरो स्मृतिले भ्याएसम्म म आफू तराईमै हुर्केको सम्झन्छु । मेरा लागि पहाडभन्दा बढी तराई नै रमणीय छ । स्वर्गतुल्य छ । सहरी जीवनको गन्ध नमिसिएकाले पनि मेरा लागि यो धेरै प्राकृतिक र सुगन्धित छ ।

तराईको एउटा जिल्ला झापा । झापाको हल्दिबारी गाविस वडा नं ३ मा रहेको भेलागुडी जङ्गलको शीर मेरो गाउँ । म त्यहीं हुकें । मलाई थाहा छ । श्री सरस्वती प्राथमिक विद्यालयको कक्षा १ मा पढ्दा मेरी आमाले भन्नुभए अनुसार म ५ बर्षको थिएँ । खेतका गरैगरा हुँदै घर पुग्दा म सयौं आली नाघ्ने गर्थें । प्रत्येक आली नाघ्दा मैले दुई एकान दुई दुई दुना चार भन्दै नौ दशन नब्ने सम्म पुर् याउँथे । कहिलेकाही स्कुलबाट भाग्दा मज्जा आउँथ्यो । अनि साथीसँग मिलेर खोलामा
पौडी खेल्नुको मज्जै बेग्लै । बर्षाको भेलमा हामी निडर भएर पस्थ्यौं । पौडनु हाम्रो कला थियो । खोला जतिसुकै गहिरो भएपनि हामी पानीमा तैरिएकै हुन्थ्यौं ।

दिदी र भान्दाजुले पछि कर गरेर मलाई बोर्डिङ स्कुलमा पढाउन बुबालाई सहमत गराउनुभयो । त्यतिबेला मैले सरकारी स्कुलको कक्षा २ पढिसकेको थिएँ । त्यही साल म आदर्श इङ्गलिस बोर्डिङ स्कुलमा एलकेजीमा भर्ना भएँ । ७ बर्षको उमेरमा म घरबाट ५ किलोमिटर टाढा रहेको बोर्डिङ स्कुल धाउन थालेँ । गाउँबाट बोर्डिङ स्कुल पढ्ने पहिलो व्यक्ति म नै भएँ । साथमा भान्दाजूको छोरो मेरो भतिज - सुमन थियो । सरकारी स्कुल पढेकाले एबीसीडी गाह्रो होला भन्ने लागेको थियो । बोर्डिङमा भर्ना हुन जाने दिन मेरो माइलो दाजूले मलाई डर देखाउनुभएको थियो 'बोर्डिङमा त सरले बेल्टले पिट्छन् रे ।' मलाई निकै डर लागेको थियो । तर मेरो लगनशीलता र मिहेनतले मलाई प्रायजसो जहिल्यै सजायबाट मुक्त गराउँथ्यो । म मनिटर हुन्थें धेरैजसो कक्षामा फस्ट भएकाले । हल्ला गरे भने बरु अरुलाई पिट्न पाइन्थ्यो । पहिलो बर्षको परीक्षामा म प्रथम भएँ । अनि एउटा कक्षा फड्किएर मैले पुनः १ कक्षामा पाइला टेकेँ ।

आदर्श इङ्लिस बोर्डिङ स्कुल म पढ्ने विद्यालय । साथीभाइसँग स्कुलमा खेल्दा निकै रमाइलो हुन्थ्यो । मन परेको विषय पढ्न पनि आनन्दै आउँथ्यो । अझ पढाउने मान्छे पनि रमाइलो स्वभावको गल्ती भए पनि खासै सजाय नदिने खालको भए त झन् राम्रो । म कविता लेख्थें कक्षा ३ मा पढ्दादेखि नै । कक्षा ६ मा पढ्दासम्म पनि स्कुलको शुक्रबारे कार्यक्रममा मेरा कविता सुन्न रुचाउनेहरु धेरै हुन्थे । मेरा कविताहरु धेरैजसो हसाउने खालका हुन्थेः

भेलागुडी जङ्गलमा बाँदर फर्क्याकफुक्रुक
कु्र्सि दिने चलन छैन बस टक्र्याकटुक्रुक
चुँई चुँई चुँई चुँई चुँइकिने जुत्ता
फाटेको जुत्ता देखिन्छ खुट्टा
न एता न उता

सानैदेखि साहित्यप्रतिको रुचि पछिसम्म रहिरह्यो । कविता वाचन निबन्ध लेखन जस्ता प्रतियोगितामा भाग लिएका केही प्रसंगहरु पछि पनि कोट्याउनेछु । तर अहिले एउटा कुरा भनिहाल्न मन लाग्यो । म बोर्डिङ स्कुलको कक्षा तीनमा पढ्दा एक जना नयाँ शिक्षक आउनुभयो । सबैको परिचयसँगै आ-आफ्नो लक्ष्य पनि सोध्नुभयो । कसैले डाक्टर बन्छु भने । कसैले ईाजनियर । मेरो पालो आयो । मैले पनि आफ्नो लक्ष्य केही अघिदेखि नै तय गरिसकेको थिएँ । मैले भनें- 'म त भविष्यमा ठूलो कवि बन्छु ।' सबैले मेरा कविताको प्रसंशा गरेकाले पनि ममा साहित्यकार बन्ने रहर पलाएको हुनुपर्छ । मेरो कुरा सुनेपछि हाँस्दै शिक्षकले भन्नुभयो- 'कवि बनेर के गर्छौ कविले त धेरै पैसा कमाउन सक्दैनन् ।' त्यसै दिनदेखि मैले पनि मेरो लक्ष्य कविबाट डाक्टर बन्नेतिर सारेँ ।

मेरो चकचक

सानामा मलाई सबैले सोझो भन्थे । म पनि मानिसहरुसँग बोल्न वा गफ गर्न खासै मन पराउँदैनथेँ । अरुका कुरा नै बढी सुन्थें । अरुका अगाडि म निकै भलाद्मी र अनुशासित हुने प्रयास गर्थें । त्यसैले कसैले मलाई चकचके होला भन्ने शंका गर्दैनथे । साच्चिकै म अरुका अगाडि निकै भलाद्मी नै देखिन्थें । वास्तविकतामा म निकै चकचके थिएँ । तर अरुभन्दा फरक खालको भन्दा फरक नपर्ला ।

एकदिन बुबाले नया रेडियो ल्याउनुभयो । ल्याएकै दिनदेखि ममा उत्सुकता जाग्न थाल्यो । त्यसभित्र कस्ता कस्ता सामान होलान् भन्ने जान्न मन लाग्यो । भोलिपल्ट रेडियो लिएर म आफ्नो कोठाभित्र पसें । हँसियाको प्रयोगले सबै पेच खोलें । भित्र रहेको चुम्बकले मेरो हँसिया तान्यो । मेरो ध्यान पनि त्यही चुम्बकतर्फ तानियो । केहीछिन पछि बुबा आउनुभएको थाहा पाएर हत्तारहत्तार रेडियोको सबै पेच कसें र पहिलाकै ठाउँमा झुण्डाइदिएँ । बेलुका बुबाले समाचार सुन्न खोज्दा रेडियो बजेन । मनमा निकै डर लागिरहेको थियो । भोलिपल्ट बुबाले भन्नुभयो 'ए कान्छा रेडियो बजेन के भएछ हेर हेर ।' मैले थाहा नपाएझैं गरी भने- 'भित्र कतै तार खुस्क्यो होला ।' अनि बुबाले मलाई नै रेडियो खोल्न लगाउनुभयो । मैले फेरि अर्कोपल्ट रेडियो खोल्ने मौका पाएँ । हत्तार गर्दा आफैंले स्पिकरको तार काटेको रहेछु । तार जोडेर रेडियो बजाइदिएँ । अनि त बुबाको अगाडि म रेडियो बनाउन जान्ने पो भएँ ।

स्कुल जाँदा पनि बाटोमा धेरै खालका चकचक गरें । तर घरमा कसैले थाहा पाउँदैनथे । न त स्कुलमै कसैलाई पत्तो हुन्थ्यो । एकदिन म र मेरो भतिज हिँडेर स्कुल जाँदै थियौं । नालीमा ४-५ वटा हाँस खेलिरहेका थिए । भतिजले सानो ढुंगा टिपेर हाँसलाई हान्यो । हाँसलाई छोएन । अनि म अघि सरें । 'हेर म लगाउँछु' भन्दै मैले अर्को ढंुगा टिपेँ । हाँसलाई ताकेर हानेको टाउकामा लागेर पर्लक्कै ढल्यो । हाँस त उत्तानो परेर छट्पटाउन थाल्यो । पछि थाहा पाएँ । मैले ठूलो ढुंगा टिपेको रहेछु । नजिकै राजवंशी गाउँ थियो । नभन्दै एकजना मान्छे हाँस कसले मार् यो भन्दै आयो । मैले १०० मिटर पर हिँडिरहेको अर्को साथीतिर देखाउँदै भनें 'ऊ त्यसले हो ।' त्यो मान्छे कुदेर ऊतिर लाग्यो । हामी बाटो परिवर्तन गरेर खेतैखेत लाग्यौं । खेतको बाटो जानु अर्को मजा थियो । बारीमा फलेका काँक्रा र बोडी टिप्न पाइन्थ्यो । कहिलेकाहीं त स्कुलबाट फर्कदा भोक मेटाउने उपाय नै त्यही हुन्थ्यो । म बेला बेलामा बुबाको कोटको खल्ती पनि छाम्थें । अलिक बाक्लो भए एउटा नोट निकाल्दा थाहा हुँदैन भन्ने लाग्थ्यो । पातलो भए त्यसै मन बुझाउँथे । तर मेरो जीवनमा पैसा चोर्नु एउटा अविस्मरणीय क्षण बनेको छ । त्यो चाहीं पछि अर्को प्रसंगमा जोडौंला । अहिलेलाई मेरो चकचक यत्ति नै ।

म जेहेन्दार विद्यार्थी

स्कुलमा म सधैं जेहेनदार विद्यार्थीका रुपमा चिनिन्थें । कक्षामा प्रश्न सोध्ने र पढाइतर्फ ध्यान दिने गर्थें । कक्षा ८ तिर विज्ञान विषय मलाई निकै मन पर्न थाल्यो । विभिन्न विरुवाका वैज्ञानिक नाम पढ्न घरछेउको जंगल र खोलाको किनारमा रहेको घाँसे मैदान मेरा लागि निकै सहयोगी बने जहाँ बसेर म दिनभर अध्ययन गरिरहन्थें । गणीत विषय पनि म अभ्यास गरिरहन्थे । सरले भोलि पढाउने हिसाब म आजै विभिन्न तरिकाबाट गर्ने प्रयास गर्थें । पढाइबाहेक अतिरिक्त कि्रयाकलापमा म प्रायजसो सहभागी भएकै हुन्थें । मैले कक्षा ४ मा पढ्दा जिल्ला खानेपानी कार्यालयले गरेको हाजिरी जवाफमा तृतीय पुरस्कारस्वरुप पाएको अंग्रजी शब्दकोश म अचेल पनि कहिलेकाहीं प्रयोग गर्छु । कक्षा ६ पछि मैले फेरि स्कुल परिवर्तन गरी विभूति विद्या मन्दिरमा नाम लेखाएको थिएँ । यो स्कुल म दुई बर्ष पढें र सबैभन्दा धेरै प्रतियोगितामा सहभागी भई पुरस्कार तथा प्रमाणपत्र पनि यसैबेला बटुलें ।

यही प्रसंगमा दुई वटा कुरा भन्न मन लाग्यो । एउटा चाहीं निबन्ध लेखनको जुन मैले माथि पछि भनौला भनेको थिएँ । म आठ कक्षामा पढ्थें । प्रधानाद्यापकले मलाई तेइसौं विश्व खाद्य दिवसको अवसरमा आयोजित माध्यामिक विद्यालय स्तरीय निबन्ध प्रतियोगितामा पठाउने निर्णय गर्नुभयो । प्रत्येक स्कुलबाट दुई जना सहभागी हुनेमा विभूति विद्या मन्दिरका लागि म एक थिएँ भने अर्की सहभागी कक्षा ९ की छात्रा थिइन् । म प्रतियोगिताका लागि जान सहमत हुँदासम्म निबन्धको शीर्षक मलाई थाहा थिएन । सरले शीर्षक भन्नुभयो 'अन्तराष्ट्रिय सहकार्य र एकता भोकमरि बिरुद्धको आवश्यता' । मलाई शीर्षक नै बुझ्न गाह्रो लाग्यो । अनि सरले सहकार्यको अर्थ बुझाउनुभयो र महत्वपूर्ण केही बुँदाहरु पनि भन्नुभयो । बाटोमा जाँदा सरले मलाई भन्नुभो 'तिमीले चाहीं कक्षा १० दस लेख्नु है ।' प्रतियोगिता हुन केही समय छँदै हामी विरेन्द्र मावि पुग्यौं जहाँ उक्त प्रतियोगिता हुन लागेको थियो । त्यहु पुग्दा अरु विद्यालयका सहभागीहरु कापीमा लेखेर ल्याएको निबन्ध घोकिरहेका थिए । त्यसैबखत मैले एउटी छात्राको कापीमा च्याएँ र केही तथ्यांक दिमागमा छिराइहालें । निर्धारित समयभित्रै मैले फुलिस्केपको ४ पाना भरें । केही दिनपछि नतिजा आयो । म दोस्रो भएछु । अनि मेरै विद्यालयकी कक्षा ९ की अर्की छात्रा चौथो भइछिन् । प्रमाणपत्रसहित मैले ६ सय रुपैयाँ पुरस्कार पाएँ र आफूलाई आवश्यक 'साइन्टिफिक क्यालकुलेर' पनि त्यसैदिन किनिहालें ।

अर्को रोचक कुरा चाहीं खेलकुद सप्ताहको हो । फुटबलमा म सधैं 'ब्याक्की' बस्थें । कसैले बल लिएर आयो भने लडाइहाल्थें । तर कि्रकेटमा रुचि भएपनि पहिले धेरै नखेलेकाले त्यति आउँदैनथ्यो । तर पनि सहभागी हुन मन लाग्यो र आफ्नो सदनमा कि्रकेटका लागि नाम लेखाइहालें । सबैको पालो सकियो । ८० रन जोड्दै सबै ब्याट्समेन आउट भएपछि मेरो पालो अन्तिममा आयो । १ ओभर बाँकी थियो । मैले आँखा चिम्लेर ब्याट चलाउँदा पहिलै बलमा चौका भएछ । अब त म झन् हौसिएँ । अफतिरको बाउण्ड्री लेगको भन्दा नजिकजस्तो लाग्यो । अनि यतै हान्नुपर् यो भनेर लेगको बल पनि अफतिर हिर्काएँ । 'छक्का !' भन्दै साथीहरु चिच्याउन थाले । बाँकी बलमा अर्को चौकासहित ८ रन जोडेर मैले मात्र १८ रनको योगदान दिएँ । दोस्रो इनिङस्मा टार्जेड पूरा गर्न एक रन बाँकी छँदै अलआउट भए र जित पनि हाम्रै भयो ।

विभुति विद्या मन्दिरको मेरो विद्यार्थी जीवन निकै रमाइलो थियो । सायद मिठा कुरा थोरै प्राप्त भएजस्तै विभुति पढ्दाको रमाइलो पल पनि मलाई छोटो लाग्यो । कक्षा ९ र १० मैले बनेपाको विद्या सागरमा पढें । झापाबाट एकाएक म काभ्रे पुगें । काभ्रेमा ६ बर्ष बस्दा ममा केही परिपक्वता व्यवहारिकता र आत्मनिर्भर बन्ने प्रेरणा जस्ता कुराहरु थपिए । यसैबीच मेरो एसएलसी प्लस टु र थोरै व्यवसायिक यात्राको थालनीबारे केही प्रसंगहरु बटुल्नेछु । तर त्यसभन्दा पहिले केही पारिवारिक कुराहरु नै उल्लेख गरौं ।

म 'सानोकान्छो'

मेरी आमा निरक्षर हुनुहुन्छ । तर उहाँले गाउने 'चरीको बिहे' मलाई विशेष मनपर्छ । बुबाको पेसा किसानी । खेती गरेरै ठूलो परिवार पाल्नु र त्यसैबाट सबैका आवश्यकता पूरा गर्नु उहुका लागि त्यति सहज थिएन । मेरा ३ दिदीहरु गोमा रमा र रिमा । गोमा मेरी ठूली दिदी । मैले थाहा पाउँदासम्म उहाँको बिहे भइसकेको थियो । कहिलेकाही उहाँ माइत आउँदा हामी 'पहाडबाट ठूल्दिदी आउनुभयो' भन्थ्यौं । आफूले पढ्न नपाए पनि भाइबहिनी पढाउन पाइन्छ भनेर उहाँले नै बुबालाई पहाडबाट तराई झर्न कर गर्नुभएको रे । तर तराई आएकै बर्ष उहाँको बिहे भएछ । अनि फेरि उहाँ ताप्लेजुङ पुग्नुभएछ । मेरो ठूलो दाजू रमेश । उहाँलाई बुबाले विशेष माया गर्नुहुन्थ्यो । त्यही भएर पनि होला उहाँले एसएलसी पास गर्न सक्नुभएन । म सानो छँदै उहुले पनि बिहे गर्नुभयो र अहिले छुट्टै घरजम गर्नुहुन्छ । अरु दुई दिदीमध्ये रमा दिदी एसएलसी पास गर्ने गाउँकै पहिलो व्यक्ति हुनुभयो । काम पनि उहाँ नै धेरै गर्ने । घरका सबै काम भ्याएर पढ्न जानुपर्ने । माइलो सन्तान भएर होला माइलो दाजू नारायणले जति हलो जोत्ने काम अरुले गर्नुपरेन । क्याम्पस पढ्ने अवसर पाएरै पनि उहाँले त्यता ध्यान दिनुभएन । मेरी सानी दिदी रिमालाई म धेरै हेप्थें । कतिपल्ट त कुस्ती नै खल्थ्यौं । रीस उठेको बेला मैले उहुलाई गाली गरेका शब्द सम्झँदा अहिले पश्चाताप हुन्छ । उहाँ प्राय मेरो 'गेटअप'को आलोचना गर्नुहुन्थ्यो । अहिले बुझ्दा भाइ अलिक 'फेसनेबल' नै होस् भन्ने उहाँको अभिप्राय रहेछ भन्ने लाग्छ । म नजन्मदै मेरो माइलो दाजूले 'कान्छो' उपाधि पाइसक्नुभएको रहेछ । म जन्मेपछि उहाँ 'ठूलोकान्छो' हुनुभयो । अनि म चाहीं 'सानोकान्छो' । सबैभन्दा कान्छो भएकाले मैले अरुको जति काम गर्नुपरेन । पढेमात्र पनि पुग्थ्यो । कहिलेकाही बाख्रा सार्न जाँदा भने निकै सास्ती भोग्नुपथ्र्यो । बाख्राको घाँटीमा झुण्डाएको डोरीको अर्को छेउमा किला हुन्थ्यो र घाँस भएको ठाउँ खोजेर किला गाडे पुग्थ्यो । तर किला गाड्न ढुंगाले ठोक्नुपथ्र्यो । धेरै वटा बाख्रा हुँदा आपत । चउरमा बाख्रा पुर्याएर ढुंगा खोज्न जाँदा एउटा बाख्रो एकातिर कुद्थ्यो अर्को अर्कातिर । अनि बल्ल बल्ल समातेपछि रीस मरुन्जेल बाख्रालाई कुटेर घर फर्कन्थें । यो बाहेक मैले हलो जोत्ने काम पनि गरेको छु । तर कहिलेकाहीं मात्र । बर्षामा भेल आउँदा खोलाले बगाएर ल्याएका दाउरा तान्न सके ठूलै काम गरेकोजस्तो लाग्थ्यो । एकदिन मेरो ठूलो भान्जो र मैले खोलाले बगाउँदै ल्याएर एउटा सखुवा पारीपट्टी किनारा लाएको देख्यौं । सखुवा देखेर खोलामा हाम फाल्यौं । भेल ठूलै रहेछ । बल्लबल्ल पारी पुगियो । सखुवा तान्न खोज्दा त ठूलो रुखै रहेछ । हामी दुवैले बल गर्दा पनि चटपटाएन । त्यहीबेला बुबाले मलाई घरबाट बोलाइरहनुभएको सुनें । अब भने खोला तर्न पनि डर लाग्यो । पुलबाट जानलाई पनि पुग्नै एक घण्टा लाग्ने । अनि त पौडन करै लाग्यो । पौडदापौडदै हातखुट्टा गलेर खत्रक्क भए । पारी पुग्न अझै आधा थियो । तर पनि हार खाइनँ । भाग्यवश मूल भुल्कोमा पुगेपछि खोलाले नै मलाई किनारतिर हुत्याइदियो । जसोतसो पारी पुगेँ । अनि सोचें - 'धत् धन्नले बाँचे ।'

बुबालाई दमले सताउन थालेको करिब ७ बर्षै भएको थियो । रोगले च्याप्तै ल्याएपछि २०६० सालमा उहाँ परलोक हुनुभयो । त्यसपछि मेरो पढाइका लागि परिस्थिति केही प्रतिकुल बन्न थाल्यो । त्यसैबेला माओवादीले बोडिङ स्कुल सबै बन्द गर्ने हल्ला फिँजायो । मैले पनि आफ्नो बाटो पहिल्याउन थालें जसकारण म झापाबाट काभ्रे जिल्लातर्फ लागें । अहिलेसम्म पनि म आफ्नो पढाइलाई काभ्रेमै निरन्तरता दिइरहेको छु । यहाँचाही मेरो अध्ययनका लागि रमा दिदीले साथ दिइरहनुभएको छ । भिनाजुको पत्रकारिता पेशाका कारण काभ्रे आउनुभएकी उहाँ अहिले आफू पनि सोही पेसामा संलग्न हुनुहुन्छ ।

मेरो काभ्रेली अनुभव

कक्षा ९ र १० पढ्न म बनेपाको विद्यासागर स्कुल जान थालें । यस स्कुलका प्रधानाध्यापकले मेरो ८ कक्षाको नतिजा हेरिसकेपछि सहयोगस्वरुप पूर्ण छात्रवृत्ति प्रदान गरी ठूलो गुन लगाउनुभयो । पढाइप्रति विशेष ध्यान दिने समय भएकाले यो समय त्यति रमाइलो भने भएन । हुन पनि आफूले चिनका हितैषी साथीहरु मैले झापामै छाडेर आएकाले साथी चिन्न पनि दुई बर्ष पर्याप्त थिएन । एसएलसीमा सोचेजस्तो सफलता हात नपरे पनि राम्रै अंक ल्याएर पास भएँ । यसबेलासम्म मैले धेरै पटक आफ्नो लक्ष्य परिवर्तन गरिसकेको थिएँ । कहिले डाक्टर बन्ने त कहिले ईन्जिनियर । कहिले त वैज्ञानिक बनौं कि जस्तो पनि लाग्थ्यो । चाटर्ड एकाउण्टेन्टले पनि पैसा राम्रै कमाउँछन् रे भनेको सुन्दा कहिले चाहीं त्यतै पो लागौं कि भन्ने सुर चल्थ्यो । तर क्षमता भए पनि एकाउण्टतिर मेरो त्यति रुचि थिएन । एसएलसी परीक्षाको नतिजा आएपछि म थप दोधारमा परें, कुन विषय पढ्ने भनेर । कतै पनि भनेजस्तो नहुने । कहिले के समस्या कहिले के । नभन्दै मैले एउटा नयाँ विषय रोजें - आम साचार र पत्रकारिता । अनि म नजिकै रहेको काभ्रे बहुमुखी क्याम्पस धाउन थालें । त्यहाँ धेरै मिहेनत गर्नुपर्ने देखिनँ । म कक्षामा बस्नुको सट्टा बनेपाको एउटा कम्प्युटर इस्टिच्युट धाउन थालें ग्राफिक्स डिजाइन सिक्नलाई्र । पत्रकारिता विषय पढ्न थालिसकेपछि त्यसको अभ्यास पनि किन नगर्ने भन्ने लाग्यो र म रिपोर्टिङमा जाने भएँ । मैले कुशेऔंशीको दिन एउटा समाचार लेखें । समाचारको शीर्षक थियो - 'दृष्टिविहीनले पनि हेरे बाबुको मुख' । दिनभर पत्रकारिता गर्न थालेपछि क्याम्पस जाने कुराले कम प्राथमिकता पाउन थाल्यो । तर पनि मैले ११ र १२ दुवै कक्षाको परीक्षामा 'क्याम्पस टप' गरें ।

मेरो पत्रकारिता यात्रा

मेरो पत्रकारिता यात्रा भने मैले उक्त विषय पढ्न सुरु गर्नु भन्दा धेरै पहिले सुरु भएको हो । मैले माथि पैसा चोरेको कुरा पछि अर्को प्रसंगमा कोट्याउँछु भनेको थिएँ । त्यही अविस्मरणीय घटनासँग गाँसिएको मेरो पत्रकारिता यात्रा अझै कलिलै छ । सिक्ने, बिक्ने र टिक्ने तीन चरणको यात्रामा म अझै आफूलाई प्रथम श्रेणी म राख्छु ।
आदर्श पढ्दाखेरीकै कुरो हो । त्यतिबेला म ठूल्दाजूसँग डेरामा बस्थें । दाजूले आफू काम गर्ने 'मोमेन्टो अपरेल्स् प्रालि' नजिकै थियो डेरा । हामी बस्ने घरमैमा मलाई स्कुलमा पढाउने ललित सर पनि बस्नुहुन्थ्यो । स्कुलबाट डेरासम्म जानेआउने गर्दा बाटोमा धेरै कुराले मलाई आकर्षित गर्थे । कहिले मोमो, कहिले चाउमिन, कहिले गोलमोल चाउचाउ त कहिले भिडियो गेम अनि हाते घडी । यी सबै कुरा किन्न मसँग पैसा थिएन । दाजूले पनि त्यस्ता कुराका लागि पैसा दिनुहुन्नथ्यो । त्यसैले मैले एकदिन एक्लै भएको बेला दाजूको कन्तुर खोलें र एउटा नोट झिकें । एक हजारको रहेछ । अनि त मसँग धेरै दिनसम्म बजारमा देखेका कुरा किन्न पैसा भइरह्यो । तर करिब १ महिनापछि दाजूले थाहा पाउनुभयो र ललित सरलाई पनि भनिदिनुभयो ।

ललित सर भनेपछि स्कुलमा नडराउने विद्यार्थी कोही थिएन । उहाँको पिटाइ खानु भनेको ठूलै सजाय पाउनु थियो । मलाई चाहीं उहाँले कविता लेख्नका लागि डायरी किनिदिनुहुन्थ्यो । तर मैले पैसा चोरेको थाहा पाएको दिन सरले मलाई आफ्नै साइकलको पछाडि राख्नुभयो । होटलमा लगेर समोसा पनि खुवाउनुभयो । अनि घर पुगेपछि आफ्नो कोठामा बोलाएर बेल्टले पिट्दै गाली गर्नुभयो । त्यसपछि फेरि सम्झाउन थाल्नुभयो । उहाँले भन्नुहुन्थ्यो "गल्ती सबैले गर्छन् । त्यसबाट पनि पाठ सिक्न सक्नुपर्छ । एउटा नराम्रो काम लुकाउन दुई वटा राम्रो काम गर्नुपर्छ ।" मलाई उहाँको कुराले छोयो । मैले पनि मनमनै सोचें - "अब म केही राम्रो काम गरेर सबैलाई खुसी पार्छु ।" त्यसको केही दिनमै मैले साथीसँग मिलेर आफ्नो सम्पादनमा स्कुलमा एउटा बाल भित्तेपत्रिका निकालें । पछि गाउँमा पनि पत्रिका निकालेर रुखमा टाँस्दा गाउँलेहरु सबै खुसी भए । आदर्श छाडेर विभूति जाने बेलामा मैले विभिन्न स्कुलका साथीहरुसँग मिलेर भृकुटी द्वैमासिक साहित्यिक पत्रिका प्रकाशन सुरु गरें । बालपत्रकार भनेर कान्तिपुरको कोपिलाले समेत मैले गरेको कामबारे लेखेको थियो । यसरी नजाँनिदो तरिकाले म पत्रकारितामा प्रवेश गरें । पछि कलेज पढ्दा मैले जागिरको रुपमा सन्जिवनीपत्र दैनिकमा रिपोर्टर तथा ग्राफिक्स डिजाइनरको काम गरें । करिब १ बर्ष काम गरेपछि म त्यही पत्रिकाको सहसम्पादक भएँ भने स्नातकका लागि काठमाडौं विश्वविद्यालयको मिडिया स्टडीज विषय रोजें । त्यसपछिको मेरो समय मिडियाका विविध पक्षबारे अध्ययन गर्नमै व्यस्त रहेको छ । अहिले (यो लेख्दासम्म) म आफ्नो स्नातक तहको तेस्रो बर्षमा छु । मलाई यहाँसम्म साथ दिनुहुने ललित सर, विभुति विद्या मन्दिरका प्रधानाद्यापक गोविन्द लम्साल, विद्या सागर स्कुलका प्रधानाध्यापक हिरा शर्माप्रति मार्गनिर्देशनका लागि आभार प्रकट गर्छु । त्यसैगरी, काठमाडौं विश्वविद्यालयमा अध्ययनका लागि सहयोग गर्नुहुने पत्रकार भोला थापा र भाषा तथा आम साचार विभागका विभागीय प्रमुख प्रा.डा. जङ्गब चौहानले गर्नुभएको सहयोगलाई म कहिल्यै बिर्सने छैन । विश्वविद्यालयमा अनुभव गरेका रमाइला क्षणहरु, त्यसै ताका सुरु भएको प्रेम प्रसंग र यसउप्र्रान्त मैले अनुभव गर्ने बाँकी जीवनबारे अर्को लेखनमा समेट्ने नै छु । मेरो जीवनयात्रा पढ्नुहुने सबैलाई मुरीमुरी धन्यवाद भन्दै अर्को लेखनमा भेट्ने बाचा गर्दछु । तपाईंको जीवन सुखी रहोस् ।
(यो लेखनको मिति : २०६७, पुस)