परिणामविहीन प्रतिस्पर्धा

जित्नुको बिपरितार्थ हार्नु हो भने नजित्नु पनि हार्नु नै भन्ने बुझिन्छ । जब हार निश्चित छ भने प्रतिस्पर्धा गर्नुको औचित्य पनि हुँदैन । एक्लो दौडको प्रतिस्पर्धा विश्वमा कहीं कतै पनि नहोला । तर नेपालमा भने त्यो भएरै छाड्यो । हार महसुस गरेरै एनेकपा माओवादीका उम्मेदवार पुष्पकमल दाहाल बाहिरिए पछि परिणामविहीन प्रतिस्पर्धामा नेपाली कांग्रेसका तर्फबाट रामचन्द्र पौडेल एकमात्र उम्मेदवार भएका थिए । प्रधानमन्त्री बन्ने सपना बोकेर उनी १६ पटकसम्म संविधानसभा भवनभित्र प्रवेश गर्दा सभामुख सुवासचन्द्र नेम्बाङले पनि सिठी फुकिरहे ।
एक्लो प्रतिस्पर्धामा एक पटकमै आवश्यक बहुमत ल्याउन नसकेपछि अर्को पटक चुनाव गरिरहनु सरासर मुर्खता हो । जनताले संविधान बनाउन र देशलाई प्रगतिको मार्गतर्फ अघि बढाउन सक्छन् भनेर छानेका योग्य तथा दक्ष प्रतिनिधिहरु नै मूर्ख बनेपछि समस्याको समाधान कसरी हुन्छ यस विषयमा संविधानसभाका अध्यक्ष सुवाशचन्द्र नेम्बाङले चुनावीप्रकि्रयालाई परिणामविहीन रुपमा अगाडि बढाउनु कुनै पनि तर्कले उचित मान्न सकिँदैन । तलब भत्ता र सुविधाको उपभोग गर्न मात्र पनि चुनावी प्रकि्रया अघि बढाइरहने सभामुख संविधानसभाका लागि भइरहेको सम्पूर्ण खर्चप्रति पनि जिम्मेवार हुनुपर्छ ।