अब त बिहे गर्ने बेला पनि भएछ

साथीको बिहेको निम्तोले आफैंलाई झस्काइदियो । एकछिन सोच्न बाध्य बनायो, "ए अब त बिहे गर्ने बेला पनि भएछ ।" झापामा स्कुल पढ्दाकी साथीले काठमाडौं आएर आफ्नो बिहेमा बोलाउँदा मैलेझैं अरु साथीहरुले पनि यस्तै सोचे होलान् । अनि धेरै समयदेखि साथीहरु एकै ठाउँमा भेटेर गफगाफ गर्ने हाम्रो योजना अब त्यहि निम्तोले साकार पार्ने भयो भन्दै हामी सबैले बिहेको भोजमा जाने निधो गर्यौं ।

दिउँसो १ बजे भेला हुने सल्लाह भए पनि म पुग्दा २ बज्नै लागेको थियो । प्रभात, प्रपन्न र लक्ष्मण पहिल्यै त्यहाँ आइपुगेछन् । केही बेरमा सन्जय पनि मुस्कुराउँदै सामेल भयो । उसको मुस्कानले के प्रतिविम्वित गथ्र्यो त्यो त हामीले थाहा पाएनौं । तर हामीसँग हात मिलाउँदासम्म केहीबेर अगाडि उसले मिनभवन क्याम्पसमा फूटबल खेल्दा चालेको चालको बयान गरिसकेको थियो । ढिलै हुँदा पनि सबै साथीहरु भेला भइनसकेकाले हामीलाई चाहीं चाँडै भएको जस्तो भान भइरहेको थियो । त्यसैले हामी चिया खाने बहानामा एउटा पसलतिर लाग्यौं ।

केही छिन् पछि सृजाको मिस्डकल आयो । कलब्याक गर्न लाग्दा उसैको फोन ब्यस्त । आफ्नोमा ब्यालेन्स् नभएको जनाउन उसले ५ पल्टसम्म मिस्डकल फाल्दा म कलब्याक गर्न खोजिरहेको थिएँ । केहीछिनमा फोन लाग्यो । मैले मिनभवन उत्र भने । गाडीबाट उत्रेपछि घण्टौं लगाएर सजिएकी आफूलाई ऐना अगाडि तेस्र्याएजस्तै गरी सोधीहाली, "कस्ती देखिएकीछु ?" मैले भनें, "एकदम राम्री छौ ।" हुन त उसको रुपको प्रशंसा गर्नु त्यतिले काफी थिएन । तर पनि मैले आफूलाई केही अप्ठ्यारो महसुस गर्दै त्यति नै व्यक्त गरें । त्यतिमै पनि ऊ मख्ख परी भन्ने मलाई लाग्यो ।

कमल चाहीं होस्टल पुगेर आउँछु भन्दै हिडेको थियो । अलिक ढिलै गर्यो । त्यसैले हामी टेम्पू चढेर लगनखेलतर्फ लाग्यौं । उसलाई पनि त्यतै बोलायौं ।

टेम्पूमा हाम्रो गफ चर्कियो । किनकि त्यहाँ एमबीबीएस, बीबीए, डेभलपमेन्ट स्टडीज, मिडिया स्टडीज र बीफार्मका विद्यार्थीहरु थियौं । सबैले आफ्नो बडोप्पन झिक्न थाले । केयू, टियू र पियूमध्ये कुन राम्रो भन्ने तर्कवितर्कहरु चलिरहे । सबैले आफू पढेको संस्थाको बखान गर्न थाले । त्यस्तैमा निकट भविष्यकी डाक्टर सृजाले आफूले त्यो दिन इण्डोस्कोपीबारे अध्ययन गरेको सुनाई । त्यसपछि त अरु केके प्राविधिक शब्दहरु झिक्न थालिहाली । बीबीए पढ्ने लक्ष्मणलाई उसका कुरा पचेनन् । पारो तताउँदै उसले अर्को शब्द आविस्कार गरिहाल्यो, "बडो फुर्ति लाइस् । लु भन क्रोनोस्कोपी भन्को के हो?" सृजाको स्वर केही छिनलाई सुक्यो । अब पालो सन्जयको थियो । उसले पनि एकाउण्टका शब्दहरु फुत्त फुत्त झिकिहाल्यो । प्रभातले थप्यो,"टीक्यूएम थाहा छ ? म्यानेजमेन्टको परिभाषा आउँछ? लिक्वीडिटी भनेको के हो ?" फार्मेसी पढ्ने प्रपन्न र मेडिकल पढ्ने सृजाका केही पाठ मिल्दाजुल्दा हुँदा रहेछन् । त्यसैले उनीहरु दुई जनाले समय आफ्नो पक्षमा लिन थाले । म मिडिया पढ्ने भएकाले सबै काम लाग्छन् भन्दै, "
हो.. हो" थपिरहेँ ।

लगनखेल पुगेर नवदम्पत्तिका लागि उपहार किन्न हामी तम्सियौं । त्यहाँ पनि चर्काचर्की नै पर्यो । सबैको मत बाझियो । कसैले जुत्ता लगिदिऊँ भन्न थाले । कसैले घडी । कसैको मन डिमलाइटतर्फ नातियो त कसैलाई भाडाकुडातर्फ । एउटाले ठट्टा गर्दै भन्यो, "खड्कुलै लाने हो कि ? कि टेड्डी वियर लाने त ?" सन्जय र लक्ष्मण चाहीं एल्बम लगौं न त भन्दै केही कदम अघि बढिसकेछन् । हामी चाहीं कपसेट र ल्याम्पमै अल्झियौं ।
त्यहीँ ढिलो भइसकेको थियो । फर्कन भ्याइन्न भन्दै सृजा रोउँलाजस्तो गरी । त्यतिन्जेलमा कमल पनि आइपुगेको थियो । तर हामी अझै एक जना साथीलाई कुरिरहेका थियौं । ४ बजे परीक्षा सकेर आउनुपर्ने प्रकृतिले पाँच बज्दासम्म मात्र आफूलाई प्रकट गरी । बसमा गए ढिलो होला भन्दै बुद्धि पुर्याएर केही साथीहरु माइक्रो रिजर्भ गर्न तम्सेछन् । नभन्दै एउटा माइक्रो हामीसामू तेर्सिदियो। सबैजना खाँदिएर बस्यौं ।

ढिलो भइसकेको थियो । हुन त लेले भन्ने ठाउँ त्यति टाढा होइन । तर अप्ठेरो बाटो र सूर्यले त्यस दिनका लागि बिदा मागिसकेको हुँदा हामीलाई केही खटपट सुरु भयो । सबैका लागि त्यो ठाउँ नयाँ भएकाले हामीमा एक प्रकारको कौतुहल थियो । अन्तै पुगिने हो कि भन्ने शंका पनि । बषौंपछि भेट भएका हामी साथीहरु आज एउटै माइक्रोमा कोचिँदा केही साथीहरुलाई सपनाजस्तो महसुस भइरहेको थियो । एक अर्कालाई जिस्काउने, एकअर्कासँग नाम जोडेर बिल्ला हान्ने काममा सानैदेखि पोख्त सन्जयले त्यो अवसर फेरि पनि गुमाएन । फर्मल गेटअपमा सजिएको कमल उसको मुख्य पात्र बन्यो । मैले थपेँ, "तर सन्जयको पनि मुड आज ठिक छैन ।" "सायद रबिनाले बिहेको निम्तो सुनाएदेखि उसलाई त्यस्तो भएको होला" - कमलले त्यहाँ अनुपस्थित दुई जनाको नाम लिँदै पैँचो तिर्यो- "चिन्ता नगर यार तेरा लागि अरु दुई जना अझै पर्खिरहेका छन् ।"

करिब १ घण्टापछि हामी बिहेघर पुग्यौं । त्यहाँ रबिनाका दम्पत्तिले हामीलाई स्वागत गरे । साँच्चिकै राम्री देखिएकी थिई रबिना । प्रकृति र सृजाले उसको रुपको चर्चा गरिरहँदा हामी केटाहरु क्वारक्वार्ती त्यतैतिर हेरिरहेका थियौं । "ह्याप्पी कर्जुगल लाइफ" - भन्दै हामीले उनीहरुलाई उपहारका तीनवटा पहाड थमायौं । हामीलाई ढिलो हुन्छ भन्ने हत्तारोले मनलाई बेलाबेला सजग गराइरहेको थियो । त्यसमा पनि बढी अत्तालिएकी थिई सृजा । त्यसैले हामीले खानपिनतर्फ आँखा डुलाइहाल्यौं । केही साथीहरु आज क्याम्पफायर गरी यतै रात बिताउने भन्न थालें । मैले नयाँ ठाउँमा आएर एक्कासी त्यस्तो योजना बनाउनु ठिक हुन्न भनें । अनि सबैजना पहिलेकै माइक्रोमा पस्यौं ।
आधा बाटो काटिसकेपछि माइक्रो रोकियो । अगाडिको टायर पंचड भएछ । चालकदाइ उत्रेर टायर फेर्न थाले । केटाकेटीहरु बाहिर निस्केर भर्खर कुरकुरे बैंश लागेझैं कम्मर हल्लाउन थालिहाले । त्यहाँ खासै धेरै समय बस्नुपरेन । हामी फेरि अर्कोपल्ट पिकनिक जाने योजना बनाउन थाल्यौं । डिसेम्बर २५ लाई सन्जयले उपयुक्त ठान्यो । सुन्दरीजल सृजाले रोजी । आफू कहिल्यै त्यहाँ नपुगेकाले मैले फेरि "हो हो" मात्र थपें । सातदोबाटो आइपुग्दा केही अघिसम्म आत्तिएका प्रकृति र सृजाले ढुक्कको सास फेरे । ट्याक्सी रिजर्भ गरी कमल र म उनीहरुसँगै सिनामंगलतर्फ हुत्तियौं । अरु साथीहरु पनि आफ्नो बाटो तताउन थाले । सबैबाट बिदा माग्दै म फेरि बानेश्वर फर्कें । ट्याक्सीबाट बाहिर निस्केर आफ्नो कोठासम्म हिँड्दा चिसो सिरेटोले दिमाग ठण्डा पारिदियो । म बितेका ७ घण्टालाई दिमागमा फेरि केलाउन थालें ।