जीवन धान्न मृगौला बिक्री

पैसा कमाउने सपना लिएर ३ बर्षअघि विदेश जान घरबाट बिदा भएका काभ्रे मेच्छे ५ का गोकुल नेपाली महिना दिन नबित्दै घर फर्किए । भक्तपुर बाँसडोल आफ्नो घर भएको बताउने अर्जुन थापाले कतार लगेर काममा लगाइदिने बाचा गरेपछि ३९ बर्षीय नेपाली उनकै पछि लागेका थिए । तर ३ दिन ३ रातसम्म रेलको यात्रा गराएपछि अर्जनले आफूहरु भारतको कुनै एउटा शहरमा पुगेर अलपत्र परेको बताए । नयाँ ठाउँमा बेखर्ची हुनुपर्दा र भन्नेबित्तिकै काम पनि नपाउँदा घर फर्कने खर्च जुटाउन एउटा मृगौला बेच्ने उपाय पनि अर्जुनले नै निकाले । "घर फर्कने खर्च जुटाउन केही सीप नलागेपछि उसको कुरा नमान्नुको विकल्प थिएन । त्यसैले मृगौला बेच्न म सहमत भएँ"- शर्त अनुसार पाउनुपर्ने रकम पनि पूरा नपाएको दुखेसो पोख्दै उनले भने "पछि थाहा भयो अर्जुन त मृगौला दलाल पो रहेछ ।"

गोकुल नेपालीजस्तै धेरै पैसा पाउने आशामा एउटा मृगौला बेच्नेहरुको संख्या कम छैन काभ्रेमा । चार बर्षअघि चाखोलामा बालुवा बोकेर परिवार पाल्ने गरेकी ज्याम्दी ७ की बिजुला परियार दैनिक ४ सय रुपैयाँ कमाउँथिन् । तर दलालको प्रलोभनमा परी एउटा मृगौला बेचेपछि उनी काम गर्न नसक्ने भइन् । अहिले आफू र आफ्नो परिवारको विचल्नी भएको बताउँदै उनी भन्छिन् "पहिला वालुवा बोकेर ज्यान पाल्थें अहिले काम गर्न सक्तिनँ के गरी बाँच्ने ?"

२ लाख रुपैयाँ दिन्छु भनी भारत लगेर नेपाल फर्कंदा ६० हजार रुपैयाँभन्दा दिन्न भन्दै दलालहरुले उल्टै कुटेर पठाएको तितो अनुभव सुनाउँदै जैसीथोक-७ का गंगाबहादुर तामाङ अहिले पछुतो गर्छन् एउटा मृगौला बेच्दा केही हँुदैन भनेर बेचिहाल्यौं तर अहिले जिउ कमजोर भएको छ । "पहिलाको जस्तो काम गर्न नसक्नु र त्यसैका कारण परिवार पाल्न कठीन भएको बताउने धेरैजसो औषधिको रुपमा रक्सी खाने गर्दछन् । मृगौला बेच्दा भएको घाउ दुख्ने गरेको र औषधि किन्ने पैसा नभएको बताउँदै तामाङ भन्छन् "पैसा पनि छैन औषधि कसरी खानु रक्सी खायो घाउ त दुख्न छोड्छ ।"

काभ्रेको होक्से गाउँमा एकै परिवारका चार जनासम्मले मृगौला बेचेका उदाहरण पाइन्छन् । होक्से-५ का कृष्ण ठकुरीसहित उनका छोरा रामकुमार छोरी शान्ता र ज्वाइँ अशोक मगरले समेत मृगौला बेचेका छन् । त्यसो त होक्सेका कृष्ण ठकुरी र तेजबहादुर श्रेष्ठ महादेवस्थानका सुब्बा सापकोटा पाँचखालका राजु अधिकारी र काले बुढाथोकीको मृर्गौला बेचेकै कारण मृत्यु भइसकेको छ ।

काभ्रे जिल्लाका होक्से खरेलथोक कोशीदेखा पाँचखाल महादेवस्थान ज्याम्दी लगायतका गाउँहरुबाट गरी १ सयभन्दा बढीले मृगौला बेचिसकेका छन् । यीमध्ये ५० प्रतिशतभन्दा बढी चाहीं होक्सेकै छन् । त्यसो त राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमै होक्से गाउँ मृगौला बेच्ने गाउँ बैंक अफ् किडनी को रुपमा चिनिन थालेको छ । स्थानीय पलााचोक भगवती असल शासन क्लवका अनुसार विशेषगरी भारतको तमिलनाडु लखनऊ चेन्नइ मद्रास चण्डीगढ लगायतका थाउँमा मृगौला बेच्नेहरुलाई लगिन्छ ।

आर्थिक अवस्था कमजोर भएका काभ्रेको होक्से र आसपासको क्षेत्रका बासिन्दालाई मृर्गौला तस्करीहरुले एउटा मृर्गौला बेच्दा केही हुँदैन भनेर फकाउँने गर्दछन् । ज्यालादारी गरेरै पेट पाल्न सक्ने हुँदा पनि यस क्षेत्रका बासिन्दा मृगौला बेच्न सहमत हुनुको कारण बाध्यता भन्दा बढी प्रलोभन नै भएको देखिन्छ । ६० हजार देखि दुई लाख रुपैयाँ सम्म मृगौला बेचेवापत लिन सक्ने आस्वासन दिने तस्करहरु भने एउटा मृर्गौलाबाट ९ लाख रुपैयाँसम्म प्राप्त गर्दछन् । नेपालको कानुनमा मृर्गौला बेचबिखनमा प्रतिबन्ध लगाइएको भएपनि मृगौला बेचबिखनबिरुद अहिलेसम्म कुनै उजुरी नपरेकाले यस्तो कार्यमा संलग्न हुनेहरुलाई कारवाही हुन नसकेको प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद न्यौपाने बताउँछन् ।

No comments: