हराउँदैछ हरियाली


धुलिखेल वरिपरीका केही ठाउँहरुमा एग्जाभेटरले आफ्ना नङ्ग्रा फैलाइरहेको देख्दा भने हामी चिन्तित भयौं । "अब यो सुन्दरता पनि धेरै दिन नरहनेभो" छेउमा रहेका सुनिर पाण्डेले यसो भनिरहँदा मैले कवि मनप्रसाद सुब्बालाई सम्झें । केही महिनाअघि दार्जिलिङबाट काठमाडौं विश्वविद्यालय आउँदा उनले काभ्रेको अथाह सौन्दर्य देखेका थिए । विशेषगरी खेतका गरा र कान्लाले उनलाई लोभ्याएको थियो । बयेली खेल्दै गरेको हरियो बालीमै उनको मन हराएको थियो । तर उनी काभ्रेको हरियाली वातावरणप्रति चिन्तित थिए । भन्दै थिए-"यी खेतका गराहरु पनि मासिदैछन् र काभ्रेको सुन्दरता पनि बिलाउँदैछ ।"

आज धुलिखेल आसपासका क्षेत्रहरुमा यस्तै परिवर्तन आउन थालेको छ । हरिया डाँडाहरुलाई सम्याई प्लटिङ गर्ने कार्य अत्यधिक बढेको छ । प्लटिङ् कार्यका कारण आसपासका यी डाँडाहरु मासिन थालेपछि भने धुलिखेलले आफ्नो भेष बदल्दैछ । हिजोसम्म हरिया बुट्यान र घाँसले भरिएका भिराला डाँडाहरु रुखो चउर बन्न थालेका छन् । जसकारण धुलिखेलको सौन्दर्य बिस्तारै हराउँदैछ । यसतर्फ भने कसैको ध्यान जान सकेको छैन ।

No comments: