ऐसेलुले लायो मोहनी

समाजशास्त्र विषयको कक्षा सकिन एक घण्टा बाँकी छँदा केही समय ुबे्रकु भयो । एक हुल विद्यार्थीहरु सरासर झाडीतिर लागे । त्यो देखेर शिक्षक पनि छक्क परे । तर जब उनीहरुले पहेंलपुर ऐसेलु टिपेर मुखमा हाल्न थाले तब शिक्षकको पनि मन स्थिर रहेन । अनि उनी पनि लागे नजिकै रहेको ऐसेलुघारीतर्फ ।
काठमाडौं विश्वविद्यालयको 'सेड' नजिकै ऐसेलुको घारी छ । ऐसेलु पाकेको देखेपछि सेड'तिर कक्षा हुने विद्यार्थीहरु आफ्नो फुस्रदको केही समय निकालेर त्यतैतिर लम्कन्छन् र ऐसेलु टिप्न थाल्छन् । 'फल निकै सानो भएपनि जिब्रोलाई मोहनी लाउने चिज हो यो'- मिडिया स्टडीज प्रथम बर्षका स्यामुएल क्षेत्रीले एक अँजुली ऐसेलु देखाउँदै भने । 'मलाई साह्रै मनपर्छ यसको स्वादु-सँगै उभिएका सुनिर पाण्डेले थपे 'अब त सकिन पो लाग्यो ।'
नयाँ बर्षको आगमनसँगै पहाडका वनपाखामा ऐसेलु र काफल पाक्न थालेपछि धेरैको ध्यान त्यतै तानिन्ध । गोठालाहरु हुन् या घाँसदाउरा गर्नेहरु । सबैले वनको फल चाखेकै हुन्छन् । अझ स्कुले केटाकेटीहरु त घर फर्कँदा गोजीभरी ऐसेलु टिप्न पाए भने निकै रमाउँछन् । तर यसपाली भने युवायुवती पनि उत्तिकै रमाइरहेका थिए । बिराटनगरकी अस्मिता रिजाल केयू 'जोइन' गरेपछि पहिलोपटक काभ्रे आएकी हुन् । आफूले पहिले कहिल्यै ऐसेलु नखाएको बताउँदै उनले भनिन्-'पहिलो पटक बोटबाटै टिपेर ऐसेलुको स्वाद लिन पाउँदा निकै मजा भयो ।' त्यसो त ऐसेलु टिप्दा काँडाले घोच्दोरहेछ भन्ने पनि उनले ऐसेलुको पहिलो स्वादसँगै अनुभव गरिन् । उनकै छेउमा एलिसा श्रेष्ठ ऐसेलु टिप्ने प्रयास गरिरहेकी थिइन् । हातभरी काडा विझे । तर ऐसेलुको मोहले भने उनलाई छाडेन । उनीजस्तै एक हुल विद्याथीर्हरु ऐसेलु टिप्ने होडमा देखिन्थे । लाग्थ्यो कि उनीहरुबीच प्रतिस्पर्धा नै चलिरहेको छ ।
ऐसेलु पाक्ने समय भएपछि वन जंगल चहार्ने धुलिखेल बखुण्डोलका चन्द्रकमल दाहाल आजकाल काममा व्यस्त छन् । तर पनि फुस्रदको समय निकालेर उनी भिरपाखा चहार्न भने छाड्दैनन् । भन्छन्-'ऐसेलु खाने सानैदेखिको बानी नयाँ बर्ष लाग्नेबित्तिकै वनजंगल घुम्ने रहर लाग्छ ।' उनी मात्र होइन काठमाडौंबाट धुलिखेल घुम्न आउनेहरुसमेत यो समय ऐसेलु खोजिरहेका भेटिन्छन् । वनमा कोइली कराएको काफल र ऐसेलु बोटबाटै टिपेको अनुभवले जोकोहीलाई नेपालीपनको आभाष दिलाउँछ । त्यसो त विदेशी पर्यटकहरु समेत निकै चासो दिएर तस्बिर लिइरहेका हुन्छन् -नेपाली काफल र ऐसेलुको ।

2 comments:

Shekhar said...

ho ho chandiraj, hamile pani tannai khayou aisalu

s said...

haha, khub hasauchau timi pani