रमाइलो तालुडाँडा
बिदाको दिन भएकाले केही फुस्रद मिल्यो । सधैंको पढाइ र कामले वाक्क भएकाले साथीहरुबीच 'ह्याङआउट'का लागि घुम्न जाने सल्लाह भयो । हामी धुलिखेलका विभिन्न ठाउँहरु चहार्न थाल्यौं ।
धुलिखेल नेपालकै एकमात्र ठाउँ हो जहाँबाट सबैभन्दा धेरै हिमालहरुको अवलोकन गर्न सकिन्छ । पश्चिममा अन्नपूर्ण र पूर्वमा सगरमाथासम्मका ३१ वटा मनोरम हिमाल एकै ठाउँमा बसेर अवलोकन गर्न पाउँदा पर्यटकहरु आफूलाई पनि हिमालको चुचुरोमै पुगेको महसुस गर्दछन् ।
"वाह ! सच व्युटिफुल माउन्टेन्स्"- पारिलो घामको प्रकाश उत्तरको हिमश्रंृखलामा ठोक्किँदा नेपाल घुम्न आएका केही विदेशी पर्यटकहरु धुलिखेलबाट ती दृश्यलाई क्यामारामा कैद गर्दै थिए । "काठमाडौंबाट नजिक भए पनि प्रदुषणबाट टाढा रहेछ" - काठमाडौंकी रश्मी अग्रवालले भनिन् । "चिसो र स्वच्छ भएकाले पनि धेरैजसो पर्यटकहरुले धुलिखेललाई आफ्नो गन्तव्यस्थल बनाउँछन् होला"- सँगै रहेका स्यामुएल क्षेत्रीले अनुमान गरे । नेपालको एक महत्वपूर्ण पर्यटकीय स्थल मानिने धुलिखेलमा केही समयअघि हजार-सिँडी निर्माण भएको छ । हजार सिँडी चढ्दै जाँदा केही पर गौतम बुद्धको ठूलो मूर्ति देखिन्छ । ठट्टा गर्दै नेपालगाजका अनिस रेग्मीले बुद्धको मूर्तितिर देखाए- "हेर त बुद्धले आफ्ना चेलाहरुलाई पाठ सिकाउँदै छन् ।"
हिउँदमा घमाइलो दिन भए धुलिखेल वरिपरीको रमाइलो दृश्य अवलोकन गर्न सकिन्छ । पुस माघको चिसोमा कुइराले वरिपरीका खाल्डाहरु पुर्दा भने आफू आकाशमा बादलहरुबीच हराएझैं लाग्छ । घामको प्रकाश धमिलिँदा वरिपरी कुइरोले ढाकेको हुन्छ । महाभारत र रामायणजस्ता टेलिश्रृंखलाहरुमा देवता र राक्षसहरु बादलमाथि शयर गरिरहेजस्तै । मैले पहिलोपटक 'प्लेन'मा यात्रा गर्दा यस्तै महसुस गरेको थिएँ ।
धुलिखेल शहरभन्दा करिब २ किलोमिटर उत्तर-पश्चिममा एउटा अग्लो डाँडो छ । विशेषगरी काफल ऐसेलु र लालीगुराँस वनभरी हुँदा निकै चर्चामा आउने यो ठाउँ काठमाडौं विश्वविद्यालय लगायत अन्य कलेजका विद्यार्थीहरुमाझ तालुडाँडाको नामले परिचित छ । हुन त प्राकृतिक रुपमा यो ठाउँ जति सुन्दर छ त्यति चर्चा भने यसले पाउन सकेको छैन । तर पनि विभिन्न ठाउँबाट धुलिखेल घुम्न आउनेहरुका लागि यो डाँडो एउटा रमणीय स्थल बन्न सक्छ । कारण तालुडाँडाको रुपमा परिचित भएपनि यस ठाउँबाट वरिपरीको दृश्यावोलोकन हरियाली र मनोरम पाइन्छ ।
एउटा साथीले छेउमा आएर सोध्यो "यसलाई किन तालुडाँडा भनिएको" खास उत्तर के हुनुपथ्र्यो मलाई पनि थाहा थिएन । तर डाँडाको टुप्पो पुग्नलाग्दा केही भिरालो चउर देखियो । "तालुजस्तै खाली ठाउँ भएकाले" मैले चित्तबुझ्दो उत्तर दिने प्रयास गरें । यहाँका स्थानीयबासीहरु यस ठाउँलाई तालुडाँडा भन्न रुचाउँदा रहेनछन् । कसैले गोसाइँस्थान त कसैले चण्डेश्वरी वन । जे भएपनि यूवाहरुमाझ यो ठाउँ तालुडाँडाकै नामले चिनिन्छ ।
डाँडाको टुप्पोमा एउटा टावर छ जहाँबाट उत्तरको हिमश्रंृखला प्रष्ट देखिन्छ । दक्षिणको अग्लो महाभारत पर्वत र वरिपरीका अन्य हरिया डाँडाहरु देख्दा आफू स्वर्गमा भएको महसुस जोकोहीले गर्छ । टावरमा चढेपछि स्वच्छ हावामा रमाउँदै काठमाडौंकी रमिता महर्जन भन्दै थिइन्- "अब त पटकपटक आउँछु फुस्रद मिल्नेबित्तिकै यहाँ आउने योजना बनाइहाल्छु ।" उनी पूर्वमा पाँचखाल उपत्यका र पश्चिममा काठमाडौं उपत्यकालाई समेत त्यहींबाट चियाउने प्रयास गर्दै थिइन् । टाढैबाट तालुडाँडालाई हेर्दा कहिलकाहीं यो आकाशमा झुण्डिएको जस्तो भान हुन्छ । मैलै मनमनै सोचें सायद बेबिलोनको 'हेङ्गिङ गार्डन' पनि यस्तै हुनुपर्छ ।
Subscribe to:
Post Comments (Atom)
5 comments:
सुन्दर नियात्राले मन छोयो।
Thank you.
Nice post and this enter helped me alot in my college assignement. Gratefulness you on your information.
Really informative article and i like the way you write as well .. pls keep continuing .. Thanks !
Thanks for the comment.
Post a Comment