आज बसबाट झर्नैलाग्दा एउटी राम्री छम्या भित्र चढी । पाँच सेकेण्डजति लभ पर्यो । म चुपचाप ओर्लेर आफ्नो बाटो लागें । उसले निकै परसम्म मलाई झ्यालबाट हेरिरही । म वास्तै नगरी अर्को माइक्रो चढें । रुपले त निकै राम्री हो । तर, विहेभियर त के था ? तर पनि सोचें, ‘लेखेकै रैछ भने अर्कोपल्ट पनि भेट होला । अनि म भन्नेछु – डिड वि मिट समवेयर विफोर ? यदी ऊ कुनै केटासँग छैन भने ।
माइक्रोमा एउटा दाह्रीवाल केटा थियो । फत्फताइरहेको । मन नलागे पनि सुनिरहेझैं गरी उसको साथी बीचबीचमा ‘हो त नि’ थपिरहन्थ्यो । उसकै छेउमा रहेकाले मेरा कानमा ती वियोगी शब्दहरु जबरजस्ती छिरिरहे ।
‘तर आज टाउको दुखिरा‘छ । मन निकै गरुङ्गो छ । टुक्रिएको मुटुको दुखाई त उल्लेखै नरुम । साला! कसैको लागि म मेरो सबै परिचय किन बदलौं ? मेरा पनि आफन्त छन् । मेरा पनि आफ्नै मूल्य मान्यताहरु छन् । उसलाई माया गर्छु भन्दैमा केवल उसको लागि हलुँडो भएर पूरै जीवन बिताउन त सक्तिनँ नि । मेरो चलिरहेको पढाइ चटक्कै छोडी त्योसँग डिपेन्डण्ट भिजामा म किन लुसुक्क अष्ट्रेलिया जाऊँ ?’
उसका त्यति कुरा सुनिसक्दा मैले पनि आफूलाई मूख्य पात्र बनाई अनेकथरी सोच्न थालिसकेको थिएँ । हामी नयाँ जेनेरेसनको वैवाहिक जीवन कस्तो होला ? हिजोको भन्दा आजको अवस्था बदलिएको छ । हिजो बुढो जागिर खान जाँदा बुढी रोटी बेलेर गृहस्थी जीवन बिताउँथी । कमाएको केही पैसाले गला र कानभरी सुनका गहना झुण्डाइदिए पुग्ने । आज दुबैलाई आफ्नो करिअर प्यारो छ । दुवैका आ–आफ्नै सपनाहरु छन् । एउटालाई अमेरिका जानुपर्ला । अर्कोलाई वेलायत वा जापान । एउटाको ड्युटी राति पर्ला, अर्कोको दिउँसो । सम्झँदा पनि उदेकलाग्दो अवस्था । बरु आफ्नै फिल्डको पार्टनर रोजे लन्ठै साफ । तर, भनेजस्तो कहाँ हुन्छ र ? मनले रोजिसकेपछि भोलिको बारेमा कसले पो सोच्ला र ?
फेरि अघि बसमा भेटिएकी छम्यालाई सम्झें, ‘माँकसम ! त्यस्ति जल्दीबल्दी छम्या पाए त संसारै उज्यालो हुन्थ्यो होला ।’