स्वदेशमै फल्छ सुन


काभ्रे पाँचखालका राजन न्यौपाने करिब डेढ दशकअघि नेपाल आएका हिमाल आरोहीले कफी पिएको देख्दा 'के खाएको होला' भन्ठान्थे । अहिले उनमा कफी पिउने लत नै बसिसकेको छ । आँगनको डिलमा बसेर कफी पिउँदै उनी भन्छन्-'कफीखेतीले जीवनस्तर बढाउन थालेपछि त नेपालका पाखाबारी यसैले भरिन थालेका छन् ।'
हिमालको चिसो छल्न आरोहीहरुले झोलामा बोकेर ल्याउने गरेको त्यही कफी अहिले नेपालबाट सैयौं टन विदेश पुग्छ । भिरपाखामा कतै कतै मात्र देख्न पाइने 'रातादाने' कफीले अहिले नेपालको हिमालीदेखि पहाडी भू-भागका हजारौं हेक्टर जमिन ओगटेको छ । यति मात्र होइन केही अघिसम्म कफीको नामसम्म नसुनेका किसानहरु यति बेला त्यही कफी फलाएर बर्षेनी करोडौं रुपैयाँ आम्दानी गर्न सक्षम भइसकेका छन् ।
भिर पाखामा समेत सजिलै फलाउन सकिने नेपाली कफीको माग अहिले विदशी वजारमा निकै बढेको छ । विदशी वजारमा यसको बढ्दो मागसँगै किसानमा पनि कफी खेतीप्रति निकै उत्साह थपिएको छ । पैसा कमाउने सपना लिएर विदेशीने कतिपय नेपाली युवाहरुलाई समेत कफीखेतीले लोभ्याएको छ । काभ्रे तिमालका रविन्द्र मैनाली भन्छन् 'स्वदेशमै सुन फलाउन सकिने रहेछ विदेशमा गएर अर्काका लागि दुःख गर्नु त व्यर्थ रहेछ ।' हुन पनि कफीखेतीबाट प्रसस्त धन आर्जन गर्न थालेका यहाँका किसानहरु नेपाली कफीलाई 'पाखामा फल्ने रातो सुन' भन्दछन् ।
कफीखेतीबारे पर्याप्त ज्ञान नभएकै कारण केही अघिसम्म 'दाउरा बाल्न पनि नहुने रुख' भन्दै फडानी गरिएका कफी घारीमा अहिले भने नयाँ विरुवा हुर्केका छन् । वजारको चाँजोपाँजो नमिल्दा कफीका रुख नै फाँड्ने गुल्मी पाल्पा कास्की काभे्र लगायत स्थानका किसानलाई अहिले व्यापारीले मागेजति कफी पुर् याउन धौ-धौ परेको छ । नेपाली वजारको भन्दा विदशी वजारको बढ्दो मागका कारण व्यावसायीहरु पनि कफी किन्न किसानका घर-घरमा पुग्ने गरेका छन् । सुरुका केही वर्ष जापानमात्र निर्यात भएको नेपाली कफीको वजार अहिले अमेरिका अष्ट्रेलियाजस्ता मुलुकसम्म पनि विस्तार भइसकेको छ । राजधानीस्थित ुद अर्गानिक भिलेजुका प्रबन्ध निर्देशक समीर नेवा भन्छन् - "रासायनिक मल र विषादिको प्रयोग नगरिएकाले यहाँको कफीले विदशी वजारमा स्वतःस्फूर्त 'अर्गानिक कफी' को मान्यता समेत पाएको छ ।"
कफीको वास्तविक स्वाद थाहा पाएर पनि नेपालीले भने अहिलेसम्म शुद्ध कफी पिइरहेका छैनन् । व्यावसायीहरु भन्छन्- "यति ठूलो परिमाणमा विदेश निर्यात भएको नेपाली कफी आफ्नै देशमा भने कमैमात्र प्रयोग हुन्छ । नेपालका केही कूटनीतिक नियोग ठूला खाले होटल र केही अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका कार्यालयमा नेपाली कफी प्रयोग गर्ने चलन भर्खरै सुरु भएको छ ।" नाम चलेका कफीसपलगायत राजधानी र बाहिरका होटलहरुमा समेत बाहिरबाट आयातित 'नेस्कफी' कै प्रयोग हुन्छ । नेपाली कफी विदेशी मुखलाई स्वादिलो भए पनि घुलनशील नभएका कारण प्रयोगमा कमी आएको व्यावसायी फूलकुमार लामा बताउँछन् । भन्छन्- "नेपालमा टुकि्रएका वियाँको पाउडर बनाउने मेसिन नभएकाले नेस्कफी बन्ने भाग त्यत्तिकै खेर जाने गरेको छ ।"

No comments: